पोखरा बैशाख २८,
पोखरा १७ स्थित बिरौटामा रहेको बालोदय सेकेण्डरी स्कुलमा कास्की जिल्ला भित्र र बाहिरका विभिन्न विद्यालयबाट एस. ई. ई. दिई बसेका विद्यार्थीहरु बिच वैशाख २६ र २७ गते दुई दिवसीय खेलकुद महोत्सव सम्पन्न भएको छ । विद्यालय प्राङ्गणभित्रकै खेलमैदानमा सम्पन्न उक्त कार्यक्रममा फुटबल, बास्केटबल, भलिबल र चेस जस्ता विविध खेलहरूको आयोजना गरिएको थियो । जस अन्तर्गत छात्रहरूको फाइभ ए साइड फुटबल प्रतियोगितामा ४४ समूहहरू सहभागी भएका थिए भने छात्रहरुको भलिबल खेलमा २३ समूहहरु सहभागी थिए । त्यस्तै गरी बास्केटबल अन्तर्गत छात्रहरुको प्रतियोगितामा ३२ समूह र छात्राहरूको प्रतियोगितामा १३ समूहहरु सहभागी भएका थिए । चेस खेलमा जम्मा २३ जना छात्रछात्राहरूले सहभागिता जनाएकाथिए ।
छात्रहरुबिच भएको बास्केटबलमा पर्वत ब्लक समूहले प्रथम स्थान तथा एस. यु. वाइ. सी. समूहले द्वितीय स्थान हासिल गरेका छन् । उक्त खेलमा उत्कृष्ट खेलाडीको रूपमा सुदर्शन पूर्जा पुन पुरस्कृत भए । त्यसै गरी छात्राहरुबिच भएको बास्केटबलमा मास बी. समूह प्रथम र मर्दिखोला ’ए’समूह द्वितीय भएको छ भने उत्कृष्ट खेलाडीका रूपमा एतिला गौचन पुरस्कृत भएकी छिन । यसै गरी छात्रहरूको फुटबलमाअप टाउन युथ क्लबले प्रथम स्थान र फाइनएफ.सी ले द्वितीय स्थान हासिल गरेका छन् । यसै खेलमा सर्वाधिक गोलकर्तामा आयुष जिसी र उत्कृष्ट गोल किपरमा नवीन गुरुङ पुरस्कृत भएका छन् । यसै गरी अप टाउनकै खेलाडी युनिस गुरुङले उत्कृष्ट खेलाडीको उपाधि जितेका छन् । यसै प्रकारले छात्रहरूको भलिबल खेलको प्रतिस्पर्धामा पोखरा युनाइटेड समूहले प्रथम तथा रियल गोर्खाली समूहले द्वितीय स्थान हासिल गर्न सफल भए । सो प्रतियोगितामा उत्कृष्ट खेलप्रदर्शन गर्ने खेलाडी निशान नेपालीलाई उत्कृष्ट खेलाडीको रूपमा पुरस्कृत गरिएको विद्यालयले जनाएको छ ।
विद्यार्थीहरूको बौद्धिक क्षमता प्रदर्शन होस् भन्ने हेतुले आयोजना गरिएको बुद्धीचाल (चेस) प्रतियोगितामा लोकेन्द्र तिलिजा पुनले प्रथम स्थान, सोनिक जङ लामिछानेले द्वितीय स्थान तथा पुष्पकमल भण्डारीले तृतीय स्थान हासिल
गरेका छन् । निर्धारित विभिन्न खेलहरूमा सहभागी भई विजयी हुन सफल खेलाडीविद्यार्थीहरूलाई कार्यक्रममको दोस्रो दिन एक कार्यक्रमको आयोजना गरी नगद, ट्रफी र मेडल प्रदान गरी पुरस्कृत गरिएको थियो । सो कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमलादेवी पगेनी, प्रबन्धनिर्देशक दुर्गादत्त पगेनी, प्राचार्य टेकनाथ पौडेल, खेलकुद कार्यक्रमका संयोजक गुप्तबहादुर क्षेत्री लगायतले पुरस्कार वितरण गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।