पोखरा भाद्र ११,
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी आकस्मिक बाढीले जनधनसँगै सडक, पुल, बस्ती, विद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पु¥याएको छ । बुधबार बिहान तिब्बततर्फबाट अचानक आएको बाढी केही घण्टामै भोटेकोशी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रसम्म फैलिँदा रसुवादेखि नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ तथा नवलपरासीसम्म ठूलो प्रभाव परेको छ ।
बाढीको यकिन क्षतिको विवरण अझै संकलनकै क्रममा छ । तर पछिल्लो उपलब्ध विवरणअनुसार विभिन्न जिल्लामा १६२ जनाको शव फेला परिसकेको छ । नेपाल प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ शव भेटिएका छन् । बाढीमा परी बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको खोजी भने अझै जारी छ । शव खोज्ने र भेटिने क्रम चलिरहेको छ । बाढीमा घाइते भएकामध्ये ८१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा सुरक्षाका लागि सयौं सुरक्षाकर्मी परिचालन गरिएको छ। बाढीको तीव्र बहावका कारण मानिस तथा शव तल्लो तटीय क्षेत्रमा बगेर पुगेको हुनसक्ने भएकाले नदी किनारका विभिन्न क्षेत्रमा समेत खोजी अभियान सञ्चालन भइरहेको छ ।
बाढीले रसुवाको टिमुरे, रसुवागढी, स्याफ्रुबेँसीलगायत भोटेकोशी नदी आसपासका क्षेत्रमा रहेका घर, होटल, व्यापारिक संरचना तथा अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पु¥याएको छ । नदीको बहाव अत्यन्त तीव्र भएकाले कतिपय संरचना पूर्णरूपमा बगाएको र कतिपयमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरणहरूमा उल्लेख छ । बाढीले चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी क्षेत्रलाई समेत प्रभावित पारेको छ । सडक तथा पुलहरूमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा आवतजावत र उद्धार कार्यसमेत कठिन बनेको छ । भोटेकोशीको बाढी तलतिर त्रिशूली नदीमा मिसिएपछि त्यसको प्रभाव नुवाकोट र धादिङ हुँदै चितवन तथा नारायणी नदीसम्म पुगेको छ । धादिङतर्फ जाने सडक तथा नदी तटीय क्षेत्रमा रहेका पुलहरूमा समेत ठूलो क्षति भएको छ । उपलब्ध विवरणअनुसार धादिङ क्षेत्रमा मात्रै तीन पक्की तथा पाँच झोलुङ्गे पुल बाढीले बगाएको जनाइएको छ ।
भोटेकोशी बाढीको सबैभन्दा ठूलो प्रभावमध्ये जलविद्युत् आयोजनामा परेको क्षतिलाई समेत लिइएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीले ११ वटा जलविद्युत् आयोजना र एउटा सौर्य आयोजनालाई प्रत्यक्ष प्रभावित गरेको छ । प्रभावित आयोजनाबाट उत्पादन हुने करिब ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको छ । बाढीले राष्ट्रिय प्रसारण लाइनमा समेत क्षति पु¥याएको छ ।
प्रभावित आयोजनामा रसुवागढी, सान्जेन समूहका आयोजना, चिलिमे, ल्याङटाङ, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो मैलुङ, मैलुङ, त्रिशूली र देविघाटलगायत आयोजना छन्। बाढीले आयोजना क्षेत्रका संरचना, पहुँचमार्ग तथा प्रसारण पूर्वाधारमा समेत असर पारेको छ । यसले मानवीय क्षतिसँगै मुलुकको ऊर्जा उत्पादन तथा प्रसारण प्रणालीमा समेत गम्भीर असर पारेको छ ।
बाढीले सडक र पुलहरू बगाएका कारण प्रभावित क्षेत्रमा उद्धार टोली पुग्न कठिन भएको छ । कतिपय स्थानमा स्थलमार्ग अवरुद्ध भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। घाइतेलाई उपचारका लागि काठमाडौंलगायतका अस्पतालमा ल्याइएको छ । रसुवामा कार्यरत सुरक्षाकर्मीमध्ये समेत केही अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ। टिमुरे, रसुवागढी, स्याफ्रुबेँसी, मैलुङ, बेत्रावती र हाकु क्षेत्रमा कार्यरत प्रहरीमध्ये गरी हाल सम्म २८ जना सम्पर्कमा नरहेको विवरण सार्वजनिक भएको छ ।
भोटेकोशीमा आएको बाढीको प्रत्यक्ष प्रभाव माथिल्लो क्षेत्रमा बढी देखिए पनि त्यसको असर त्रिशूली हुँदै तल्लो तटीय क्षेत्रमा समेत परेको छ। नदीको बहाव घट्दै गए पनि बाढीले बगाएर ल्याएका मानिस तथा शव तल्लो क्षेत्रमा भेटिन थालेपछि नदी किनारमा खोजी तथा निगरानी बढाइएको छ । तनहुँको देवघाट आसपास नारायणी नदीमा समेत भोटेकोशी–त्रिशूलीबाट बगेर आएका शव भेटिएका छन् । तनहुँमा मात्रै नौ शव फेला परेको विवरण सार्वजनिक भएको छ । भोटेकोशी बाढीबाट कति घर पूर्णरूपमा बगे, कति परिवार विस्थापित भए, सडक तथा पुलमा कति क्षति भयो र जलविद्युत् आयोजनामा भएको आर्थिक क्षति कति हो भन्ने पूर्ण विवरण अझै आउन बाँकी छ ।अचानक आएको बाढीका कारण धेरै ठाउँमा प्रारम्भिक तथ्यांक संकलनसमेत कठिन भएको छ । त्यसैले अहिले सार्वजनिक भएका मानवीय तथा भौतिक क्षतिको विवरण बढ्न सक्ने देखिएको छ ।
सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोजी, उपचार तथा राहतलाई प्राथमिकतामा राखेको जनाएको छ । तर तत्काल उद्धारसँगै विस्थापित परिवारको व्यवस्थापन, अवरुद्ध सडक तथा पुलको पुनर्निर्माण, विद्युत् पूर्वाधारको मर्मत र जोखिमयुक्त नदी तटीय बस्तीको दीर्घकालीन व्यवस्थापन सरकारका लागि ठूलो चुनौती बनेको छ । भोटेकोशीमा आएको यो बाढीले हिमाली क्षेत्रमा जलवायुजन्य जोखिम र विपद् पूर्वतयारीको विषयलाई पनि पुनः गम्भीर रूपमा उठाएको छ । अत्यन्त छोटो समयमा आएको बाढीका कारण सर्वसाधारणले सुरक्षित स्थानमा जाने पर्याप्त समय नपाएको देखिएको छ । अझ रातीको समयमा भएको भए अझै ठुलो धनजनको क्षती हुने अनुमान गरिएको छ । आगामी दिनमा यस्ता विपद्का लागि प्रभावकारी पूर्वसूचना प्रणाली, नदी तटीय क्षेत्रमा जोखिम नक्सांकन र सुरक्षित उद्धार मार्गको व्यवस्था गर्नु आवश्यक देखिएको छ । यसै विच मुलुकमा क्रियासिल राजनितीक दल, निजी क्षेत्र, स्थानिय तथा प्रदेश सरकार लगायत आम नेपालीले यो विपदको वेला एक भएर बिपदको सामाना गर्ने प्रतिवद्धता जनाएका छन् । साथै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आईरहेको छ भने भारत, चिन अमेरिका लगायतका देशहरुले सहयोगको प्रतिवद्धता गरेका छन् ।
